Spread the love

इतिहासको पानामा दोलखाको बारेमा धेरै कुराहरू सुन्नमा आयो । अनुसन्धानकर्ताहरूले दोलखाको भाषा संंस्कृति, रहनसहन र जीवन व्यवहारमा प्रयोग भएका र गरिएका शब्दहरूको विभिन्न तरिकाले व्याख्या गरिएको पाइयो तथापि दोलखामा प्रयोग भएका दोलखा नेवार भाषामा कुनै कुनै शब्द यस्तो पनि छ कि जुन शब्द अन्य कुनै भाषामा प्रयोग भएका शब्दमा मेल खाँदैन जुन चाहिँ दोलखाको ठेट् मौलिक शब्द हो । यसलाई मूल शब्दको हिसाबले परिभाषित गर्न खोजिएको छ । जस्तो कि,
दोलखा नेवार भाषा उपत्यका नेपाल भाषा नेपाली भाषा

हो, यस्तै यस्तै शब्दहरू जुन कुनै अन्य भाषासँग मेल नखाने शब्दहरू दोलखा भाषामा पाइन्छ । तर पनि दोलखाको भाषा र मौलिक विषयवस्तुलाई दोलखा भन्दा बाहिरका इतिहासविद् र संस्कृति शोधकर्ताहरूले खुलेर व्याख्या गर्न चाहँदैनन् जस्तो लाग्दछ । केही गरी प्रसङ्ग उठी हाले पनि “ए.. दोलखामा त यस्तो पो भन्दा रछन्…” भन्ने हेय भावले भन्ने गर्दा दोलखाको प्राचीन मौलिकतामाथि अपमानबोध हुन जान्छ । दोलखाको इतिहासको बारेमा अग्रज साहित्यकार मोहन प्रसाद खनालज्यूले लेख्नुभएको नेपालको इतिहासमा सबै नेपाली भाषागत कुराको उत्खनन भएको देखिन्छ र अनुसन्धान पनि दह्रै तरिकाले गरिएको भएको छ ती कुरालाई खण्डन गर्न त हुन्न नै । तैपनि त्यतिबेलाका शैक्षिक मार्गबाट वञ्चित नेपाली जनमानसका लागि त्यो इतिहासमा व्यक्त गरिएका भाषा र संस्कृतका अवयवहरू जिवन्त र उर्वरयुक्त माटो साबित भएको मान्न सकिन्छ ।
त्यो एउटै माटोमा मकै मात्र छर्दा पनि मकैको साथमा अन्य उपभोग्य अन्नको साथमा विभिन्न घाँसहरू पनि उम्रन पुग्छ । जुन घाँस या वैकल्पिक अन्नले खासै अर्थ दिएको नदेखिए तापनि त्यसले केही न केही रहस्य र महत्व दर्शाएको हुन्छ तर खेती गर्ने किसानले आपूmले छरेको मकैलाई विशेष प्राथमिकता दिएर स्याहार गरेको हुन्छ तर अन्य घाँस या अन्नका बिरुवालाई काम नलाग्ने दर्जामा राखेर उखेलेर कुना खाल्डोतिर फ्याँकिदिन्छन् । पछि त्यही काम नलाग्ने भनेर फ्याँकिएका घाँस या अन्नका बिरुवा या पोथ्राले कि त मलको काम गर्छ कि त चौपाया घरेलु जनावरको खाद्यवस्तुको रुपमा काम दिन्छ । यसको अर्थ हो भाषामा देखिएका कुनै पनि अक्षर या शब्दलाई सामान्य शब्द भनेर त्यसलाई प्रयोग उपयोग नै नगरीकन राख्ने गर्दा त्यसको अस्तित्वमा ह्रास आउन सक्छ । त्यसैले त्यो शब्द या अक्षरको उत्पतिको गर्भलाई नियाल्न जरुरी छ । त्यसैले आज दोलखाको मातृभाषामा प्रयोग हुँदै आएको केही शब्दहरुलाई खोतलखातल गरेर ती शब्दको उत्पतिका सम्भाव्य मार्गलाई यहाँ राख्ने अनुमति चाहन्छु । यो मेरो अनुमानित तर्क हो यसबारे सही सत्य यथार्थ के होला यहाँहरूकै मस्तिष्कलाई जिम्मा दिन चाहेँ ।
दोलखाको मातृभाषामा प्रचलित एउटा शब्द हो ‘स्याउदाइ’ । जुन शब्दको उच्चारणले आपूmभन्दा ठूला नातेदार मान्यजनलाई अभिवादन गरिने सम्मानजनक शब्द हो । जसको मूल अर्थ नेपालीमा आदरता प्रकट गर्दा आदरणीय, पूजनीय वर्गलाई ‘ढोग गरेँ’, ‘दर्शन गरेँ’ भनेर आदर सम्मान प्रकट गर्नु हो । यस्तो प्रकृयालाई तामाङ समुदायमा ‘फ्याफुला’ राइ र थामी समुदायले ‘सेवा’ अनि लिम्बू समुदायले ‘सेवारो’ र शेर्पा जातिले ‘टासि डेलेक’ भनेर आदरता प्रकट गर्न शिर निहुÞÞ¥याएर गर्ने अभिवादनको संस्कार हो ।
अब दोलखाको नेवार मातृभाषामा ‘स्याउदाइ’ शब्द कसरी सृजना भयो त भन्दा दोलखा जिल्लामा किराँतकालीन सभ्यतादेखि चलिआएको आदिवासी चलनचल्तीमा थामी जातिका समुदायमा अहिले मात्र होइन परापूर्वकालदेखि नै गहिरो मानवीय सम्बन्ध रहेको प्रमाण अद्यावधि छँदैछ । इतिहास साक्षी छ कि प्राचीन ऐतिहासिक एवं धार्मिक तिर्थस्थल दोलखामा मच्छिन्द्रनाथ करुणा माइको रथ यात्रा होस् या बडादशैँको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमाको दिनसम्ममा होस् दोलखा नगर भित्र नै छरिएर रहेका थामी समुदाय र नेवार समुदाय बीचमा परम्परा र साँस्कृतिक कार्यमा ऐक्यबद्धता हुँदै आएको कुरालाई नकार्न सकिन्न । दोलखाको साँस्कृतिक पृष्ठभूमिमा कुमाल, थामी, खड्गी, कुस्ले, दमाइ, विश्वकर्मा र सार्की समुदायमा महत्वपूर्ण भूमिका रहेको छ । यस लेखमा जातिय नाम तोकेर नेवार भन्दा फरक ढंगले अपमान गर्न खोजेको होइन । विषय र प्रसङ्गमा ती कुरा इतिहासमा प्रस्तुत हुँदै आएको छ ।
अब दोलखाको मूल नगरभित्र अभिवादनको प्रचलनमा आएको सम्मानार्थ र आदारार्थ शब्द ‘स्याउदाई’ को उत्पत्ति पनि यसै प्रकारले सृजना भएको मान्न सकिन्छ । थामी समुदायका स्थानीय बासिन्दा र दोलखाको रेथाने नेवार समुदाय बीचमा आवतजावत रहनसहन एकदमै समिपमा रहेको कारणले पनि यो शब्द समिश्रण भएर नयाँ रुपमा सृजना भएको मान्न सकिन्छ । जस्तो कि थामी समुदायका मान्छेहरू दोलखा नगर भित्र आउँदा एक आपसमा सुमधुर सम्बन्ध राख्ने क्रममा.. “सेवा है बाजे.. सेवा है बज्यु” भन्ने गर्थे । यस्तै रीत राइले ‘सेवा’ र लिम्बुले ‘सेवारो’ भन्ने चलन ती समुदायमा अझैसम्म चलिरहेकै छ र थामी समुदायमा पनि यो चलन यथावत छ ।
अर्को कुरा दोलखाको भीमसेन देवताको मन्दिरमा करीब साँढे तीन दशक पहिलेसम्म रामनवमी अर्थात चैते दशैँको अवसरमा पूर्वी पहाडी भाग खोटाङ, भोजपुर, ओखलढुंगा, सिन्धुलीतिरबाट पञ्चबलि पूजा गर्नाका लागि राई, लिम्बु, मगर, गुरुङ समुदायका मान्छेहरू लावालश्कर आउँथे । ४÷५ दिनको पैदल यात्रा गरेर दोलखाको भीमेश्वर दर्शन गर्न आउँदा स्थानीय नेवार समुदाय बीचमा घनिष्ठता गहिरो बनेको थियो ।
यतिबेला आउँदा एक आपसमा अभिवादन आदानप्रदान गर्ने क्रममा ती अतिथिहरू..“सेवा…है हजुर बा..बज्यू” भन्ने गर्थे र यता दोलखाका स्थानीय नेवार समुदायले पनि ती अतिथिलाई शुरुमा त्यसरी नै अभिवादन फर्काउने क्रममा आपूm भन्दा सानालाई “भाग्यमानी भए..” भनेपनि आपूm सरह वा आपूmभन्दा ठूलालाई त्यसरी नै..“सेवा है दाइ..” भनेर दिदी..साथी..मित्रको साइनो गाँस्दै जाने क्रममा दोलखामा चाहिँ अभिवादनको मूल शब्द नै “स्याउदाइ” बन्न पुगेको हुनसक्छ । अर्कोकुरा दोलखा र दोलखा जिल्लाभन्दा पूर्वतिरका थामी, राइ, लिम्बु र गुरुङ समुदायमा पाका महिला अर्थात उमेरले बढी वा नाताले ठूला भएका नारी जातिलाई आदर र सम्मानपूर्वक अभिवादनले “ताइ” भन्ने चलन छ । यसैक्रममा छोरी, बुहारी, भान्जाभान्जी जो कोहीले ठूलालाई सम्बोधन र अभिवादन गर्दा… “सेवा ताइ” अझ संक्षेपमा भन्दा “स्यो.. ताइ” भन्ने चलन छ । यही वाक्य दोलखामा आउने बेलामा सम्बोधनमाथि अभिवादन गर्ने क्रममा सेवा..दाइ वा स्यो ताइ भन्ने वाक्य चलाउँदै जाँदा आज “स्याउदाइ” हुन गएको हो भन्ने आधार लिन सकिन्छ । यो लेखमा सहमत असहमत के छ सुझाव र सल्लाहको अपेक्षामा छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *